मिडियाबाजी डटकम काठमाडौँ, असार ११ । पतञ्जलीको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न नाम टिपाउने कानुन व्यवसायीको संख्या १२० पुगेको छ ।
आज (बुधबार) विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित १२० जनाले नाम टिपाएका हुन् । नाम टिपाउनेको संख्या अझै थपिँदै छ ।
तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । पूर्व प्रधानमन्त्री नेपालको तर्फबाट बहस गर्ने भनी ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेका हुुन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्व प्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् ।