मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने चेतावनी दिएका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतंक मच्चाउनेलाई कुनै स्थान नदिइने चेतावनी दिए । ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने ।
हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’, उनले प्रश्न गरे । प्रधानमन्त्री ओलीले राजावादीहरू कुनै उद्देश्यको लागि नभई केबल साना स्वार्थका लागि लडिरहेका आरोप लगाए । ‘सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ती देखाएका छन्, एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता–कता जान्छन्’, उनले भने ।