सरकारले राम्रो गरेको देख्न नसक्नेहरु सलबलाएका छन् : महासचिव पोखरेल

  माघ १२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १२ ।  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै रहेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला–२०८१ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरु सलबलाएको आरोप लगाए ।

महासचिव पोखरेलले भने, ‘जतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ । यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरि एक पटक सलबलाएर एमाले र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवम आक्रमण गरिरहेका छन् ।’

महासचिव पोखरेलले एमालेको नेतृत्वले सरकारले जनतामा आशा जगाएको दावी गरेका छन् । महासचिव पोखरेलले सरकारले जनतामा आशा सञ्चारित गरेको र विकास र निर्माणका कामहरुले तीव्रता पाइरहेको बताए । महासचिव पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर