मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपसभामुख इन्दिरा राना जोडिएको बालमन्दिरका बालबालिकाको अवैध ओसारपसारबारे अनुसन्धान थालेको छ ।
राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।
सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको जानकारी दिएका छन् । उनले भने, ‘विभिन्न माध्यममार्फत पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारेका कुरा आएका छन् । यसबारे भएको के हो भनेर चासो राखेका छौँ । हामी हेर्दैछौँ ।’
मानवबेचबिखन अनुसन्धान ब्यूरोका एसपी नरेन्द्र कुवँरले पनि आफूहरूले प्रारम्भिक रुपमा बुझ्ने काम थालेको बताउँदै भने, ‘बच्चाहरू कहाँ छन् ? के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको छ ।’
२०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्व न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।