मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्न आलटाल गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।
शनिबार बसेको जसपा पदाधिकारी बैठकले सरकारमा सहभागी खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको हो।
जसपा नेपालबाट विभाजन भइ बनेको जसपाका हाल सात जना सांसद छन्। उनीहरुलाई पालैपाले मन्त्री बनाउनुपर्ने बाध्यता अध्यक्ष अशोक राईलाई छ। वर्तमान सरकारमा दुई मन्त्री सहभागी छन्।
उनीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने बाध्यतामा रहेका राईले प्रधानमन्त्री ओलीलाई नयाँ मन्त्रीको नाम यसअघि नै बुझाइ सकेका छन्। तर प्रधानमन्त्री ओलीले नयाँ मन्त्री बनाउन आलटाल गरेको भन्दै जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।
‘सरकारमा पठाउँदा नै एक वर्षका लागि भनेर कार्यकाल तोकिएको थियो,’ जसपा स्रोतले भन्यो, ‘एक वर्ष पूरा भइसक्दासमेत मन्त्री परिवर्तन भएका छैनन्। पार्टीले नयाँ मन्त्रीको नाम नै प्रधानमन्त्रीलाई दिइसक्दासमेत मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीले इच्छा देखाउनु भएको छैन। अब सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने तयारी छ।’
मन्त्री फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन भने जारी राख्ने जसपाले जनाएको छ। जसपाले यादव र सुडीको ठाउँमा डा. वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी गरेको छ।