धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ : मन्त्री खड्का

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन संखुवासभाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गरे ।

मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टिका टिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरे ।

उनले कानूनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पारे । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गरे । उनले भने, ‘धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।’

संखुवासभाको सन्दर्भमा उनले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गरे । संखुवासभा अन्तरदेशीय त्रिदेशीय मार्गको सामरिक महत्व रहेको बताउँदै उनले यसले नेपालको समृद्धिमा मात्र नभई त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले किमाथांका नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । उनका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर