मिडियाबाजी डटकम काठमाडौँ, साउन ८ । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले आफ्नो १३औँ वार्षिकोत्सव एक विशेष समारोहका बीच काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबमा भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले गरेका थिए ।
ट्राफिक जनचेतनामा उल्लेखनीय योगदान
प्रमुख अतिथि तामाङले ट्राफिक एफएमले सुरक्षित सवारी, ट्राफिक व्यवस्थापन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय कार्य गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे । उनले ट्राफिक एफएमसँग सहकार्य गर्दै जनचेतनामूलक सन्देश प्रसारणमा सहयोग गर्ने विज्ञापनदाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरेर सम्मान गरे ।
त्यस्तै, उनले एफएमका प्रथम स्टेशन म्यानेजर पूर्व प्रहरी उपरीक्षक पवनकुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने २ जना ट्राफिक प्रहरी र एफएमका ४ जना कर्मचारीलाई प्रशंसा पत्रद्वारा सम्मानित गरे ।
सहकार्य र उत्तरदायित्वको सामूहिक पहिचान
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सम्मानहरू केवल व्यक्ति विशेष नभई सामूहिक उत्तरदायित्व र सहकार्यको पहिचान भएको उल्लेख गरे। उनले ट्राफिक एफएमको सशक्त भूमिका र विस्तारमा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रशंसा गर्दै सबै पक्षलाई सहकार्यको भावना बोकी अघि बढ्न आग्रह गरे । कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ट्राफिक एफएमले अन्य सञ्चार माध्यमभन्दा भिन्न र पृथक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यसको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताइन् ।
त्यस्तै सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले एफएमसँगको सहकार्य सडक सुरक्षा र सचेतना अभिवृद्धिमा सहयोगी रहेको बताए । एफएमका वर्तमान स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक (इन्जिनियर) अमरेन्द्रप्रसाद सिंहले स्वागत मन्तव्य दिँदै उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरे ।