मिडियाबाजी डटकम काठमाडौँ, साउन ८ । नेपालका डेरी उद्योगहरुले उत्पादन गरेका दुग्धजन्य पदार्थहरु बिक्री नभएर गोदाममै थन्किरहेका बेला भारतबाट अवैध रुपमा आयात भइरहेको पाइएको छ।
नेपालकै उत्पादनले स्थानीय बजार धान्न सक्ने भइसकेको ठहर गर्दै सरकारले विदेशबाट दुग्धजन्य पदार्थ आयातमा रोक लगाएको थियो।
सरकारले गएको फागुन २ मा विदेशबाट दुग्धजन्य पदार्थ आयातमा रोक लगाएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले आयातमा रोक लगाएको हो। मन्त्रालयले यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायत सम्बन्धित निकायहरुलाई यसबारे जानकारी गराउँदै आयात रोक्न भनिसकेको थियो।
तर, बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा काठमाडौंका विभिन्न स्थानबाट ठूलो मात्रामा अमूल ब्राण्डको बटर जफत गरेको हो। विभागका महानिर्देशक कुमार दहालले आयात अनुमति नदिइएका लगाइएका वस्तु जफत गरिएको पुष्टि गरे।
यस्ता वस्तुहरु व्यक्तिगत प्रयोजनका लागि एक व्यक्तिले बढीमा एक किलोग्रामसम्म ल्याउन पाइने भए पनि बिक्रीका लागि ल्याउन भने पाइँदैन। तर, बजारमा छ्याप्छ्याप्ती यी वस्तुहरु बिक्री भइरहेको भेटिएको उनले बताए।