मिडियाबाजी डटकम काठमाडौँ, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरण छानविन गर्न सरकारले बनाएको समिति टालटुले भएको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभा बैठकपछि बाहिरिएर सांसद वाग्लेले टालटुले समिति बनाएर भिजिट भिसा प्रकरणलाई नै फासफुस पार्न लागेको बताए । उपसभापति वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्न सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन् । ‘यो टालटुल समिति बनाएर फासफुस बनाउन खोजियो । यो समिति सुन पानी छर्किने, जोगाउने, चोख्याउने नियतले बनेको हुँदा रास्वपालाई स्वीकार्य छैन,’ उनले भने ।
यस्तै उनले मनिष झाको भनाइ उदृत गर्दै तीर्थराज भट्टराईकै नेतृत्वमा समिति बनाएर सुन पानी छर्किए हुने भनेर कटाक्ष समेत गरे । उनले सरकारले जाँचबुझ आयोग ऐन अनुसार २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको बताए । त्यसबाहेक संसदीय छानबिन समिति भए पनि स्वीकार्य रहने उनको भनाइ थियो ।