मिडियाबाजी डटकम काठमाडौँ, असार १० । मोरङको विराटनगर महानगरपालिकाले चार अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ ।
महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८१/८२ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बत्ताइन् । उनले यो बजेटले समृद्ध महानगर बनाउने अभियानमा सघाउ पुर्याउने समेत दाबी गरिन् ।
उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, वडा स्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।