मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएर महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। फिल्डमा खटिएका ईलाका प्रहरी कार्यालय बर्दघाटका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार गए राति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध रहेको छ।
सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। सडक अवरुद्ध भएपछि राति ११ बजेबाट पूर्व–पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन्। शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ।