मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन नै चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अन्तरिमकालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए । आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने उनले बताएका छन् ।
संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै उनले दुःखेसो समेत गरे । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको टिप्पणी गरे ।
उनले भने, ‘संविधानमा उपलब्ध प्रगति त गर्यौं तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भने जस्तो । संविधानको उपभोग बनाउन जनताले पाउनु पर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं । यो मैले गरेको प्रश्न म आफैंलाई हो ।’
उनले भने, ‘तर मैले आफैलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौं । म त अन्तरिमकालदेखि संसदमा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’ उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताएका छन्।