मिडियाबाजी डटकम काठमाडौँ, साउन ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।
पूर्व उपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
‘ठगी लिखत कीर्ते र राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरेका छन् ।
कानुन व्यवसायी अधिवक्ता धर्मराज रेग्मीले जिरह गर्दा पन्थीले टंक गुरुङको रेष्टुराँमा पटक–पटक मूल प्रतिवादी सानु भण्डारी र केशव दुलालले बोलाएर जाने गरेको तर ती भेटघाटमा पूर्वमन्त्री रायमाझी र उनका स्वकीय सचिव लीला जिसी नरहेको लिखित बयान दिएका हुन् ।