मिडियाबाजी डटकम काठमाडौँ, साउन ७ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ ।
तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।
यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्ने छन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ । सरकारले चालु आवमा रु तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
यसरी उठाइदैछ, आन्तरिक ऋण
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म रु एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा रु एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।
कार्यतालिका अनुसार कार्यालयले रु १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, पाँच वर्षे रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।