फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

  ८ घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।  होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भई हाल काठमाडौं–५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्।

दुबैलाई काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए। आचार्यका अनुसार उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।

अनि विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए। उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।

अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौं भन्दै धम्क्याइन्थ्यो।’ त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैं सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्ने गरेको प्रहरीले जनाएको छ।

काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर