सर्वोच्चमा न्यायाधीशहरुबीच तिक्तता बढ्दो, फूलकोर्ट बस्न सकेन, संवैधानिक इजलास अन्योलमा

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ ।  सर्वोच्च अदालतमा न्यायाधीशहरुबीच आपसी तिक्तता निकै बढिसकेको तथ्य गएको बुधबार बाहिरियो।

सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोर्ट बस्ने दिन बुधबार फूलकोर्ट बस्ने अवस्था नै नभएपछि न्यायाधीशहरबीच आपसी बेमेल हदैसम्म बढेको धेरैले थाहा पाए।

सर्वोच्चमा बुधबार फूलकोर्ट बस्ने चलन छ। बुधबार प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाउने र त्यसमा न्यायपालिकाको नेतृत्वदायी निकायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने गरेकोमा गएको बुधबार भने बैठक बस्न सकेन। स्रोतका अनुसार प्रधानन्यायाधीशले बैठक बोलाएका थिए तर बैठकमा आधा न्यायाधीश उपस्थित भएनन्।

बैठकमा अनुपस्थित रहने अधिकांश न्यायाधीशहरु बरिष्ठ न्यायाधीश थिए। भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका अधिकांश न्यायाधीशहरु बैठकमा अनुपस्थित भएपछि पूर्ण बैठक बस्नै नसकेको बताइएको छ। स्रोतका अनुसार प्रधानन्यायाधीशले कुनै प्रस्ताव अगाडि बढाउने र निर्णयमा सहमत हुन दबाब दिने आशंकाले बरिष्ठ न्यायाधीशहरु बैठकमै नगएका हुन्।

यसअघि बसेको पूर्ण बैठकमा प्रधानन्यायाधीशले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको छनोट पनि गोलाप्रथाबाट गर्ने प्रस्ताव गरेका थिए। अहिले सर्वोच्च अदालतसहित देशभरका अदालतहरुमा अन्य इजलासमा बस्ने न्यायाधीशको छनोट गोलाप्रथाबाट गर्ने अभ्यास छ। तर, संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोट भने गोलाप्रथाबाट हुँदैन।

संविधानले नै संवैधानिक इजलास प्रधानन्यायाधीशको अध्यक्षतामा बस्ने र इजलासका अन्य न्यायाधीशहरु न्यायपरिषदको सिफरिसमा प्रधानन्यायाधीशले तोक्ने स्पष्ट व्याख्या गरेको छ। तर, प्रधानन्यायाधीशले यो संवैधानिक व्यवस्था उल्लंघन गर्न खोजेको भन्दै बरिष्ठ न्यायाधीशले विरोध गरेपछि त्यो बैठक निष्कर्षविहीन भएको थियो। त्यसयता सर्वोच्चमा पूर्ण बैठक बस्न सकेको छैन।

प्रधानन्यायाधीशले संविधानको व्यवस्था विपरित अभ्यास लागू गर्न खोजेको भन्दै बरिष्ठ न्यायाधीशहरु विरोधमा उत्रिएपछि सर्वोच्च इजलासमा संवैधानिक इजलास बस्न सकेको छैन। पछिल्लो पटक संवैधानिक इजलासले असारको अन्तिममा संवैधानिक आयोगमा पदाधिकारीको नियुक्ति सदर गरेको थियो। त्यसयता संवैधानिक इजलास बस्न सकेको छैन।

तपाईंको प्रतिक्रिया

थप खबर