प्राथमिकताप्राप्त आयोजनाको अब सहरी विकास मन्त्रालयबाटै लाइभ अनुगमन गर्न सकिने

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ ।  सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मनलयबाटै दैनिक अनुगमन हुने भएको छ।

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा अअनलाइन अनुगमन कक्षको शुभारम्भ गरे।

सो क्रममा उपप्रधानमन्त्री सिंहले अनलाइन अनुगमन कक्षले आयोजनाहरुको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न सहज हुने बताए। ‘सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ। यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरु समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिएको छु,’ उनले भने। उपप्रधानमन्त्री सिंहले अनुगमनका लागि फिल्डमा जाने पुरानो शैलीसँगै कामलाई सहज बनाउन र समस्यहाहरु तत्कालै हल गर्न प्रविधिको प्रयोग गरिने बताए।

उनले अहिलेको समस्या आयोजनाहरु समयमा नसकिनु रहेको भन्दै शुरुबाटनै गम्भीर रुपमा अनुगमन गरे समयमा काम सक्न मद्दत गर्ने विश्वास व्यक्त गरे। अनुगमन कक्ष औपचारिकता मात्र नभएर समयमा काम सम्पन्न गराउन यसको अधिकतम उपयोग गरिनुपर्नेमा पनि उपप्रधानमन्त्री सिंहले जोड दिए।

सहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट स्टेडियम, सिंहदबारभित्रै बनिरहेको संघीय संसद भवन, नवलपूर नमूना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाको आजबाट अनलाइन अनुगमन सुरु भएको र आगामी दिनमा थप अरु आयोजना पनि अनुगमन हुने मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर