मेलबर्न रेनेगेड्सलाई हराउँदै नेपालको दोस्रो जीत

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ४। अष्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्सले २० ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।

मेलबर्नका अर्जुन नायरले सबैभन्दा धेरै २६ रन बनाए । नेपालका सोमपाल कामीले ५, कुशल भुर्तेलले २ तथा शाहब आलम र रूपेश सिंहले १÷१ विकेट लिए । यसअघि पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

नेपालका कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४ रन बनाए । मेलबर्न रेनेगेड्सका फर्गस ओ’निल, कलुम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले २-२ विकेट लिए ।

शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । शुरूका लगातार ३ खेलमा हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्सलाई हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्ने छन् । प्रतियोगिता अन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ । टप इन्ड टी–२० शृङ्खलापछि अष्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर