मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ४। सर्वोच्च अदालतले गौर हत्याकाण्डबारे गरेको परमादेशबारे छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको वैठक बस्दै छ ।
मोर्चाको बैठक थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा आज (बुुधबार) साँझ ५ बजे बस्ने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । आजको बैठकमा छलफलका दुईवटा कार्यसूची रहेको उनले बताए ।
बैठकमा गौर हत्याकाण्डमा अनुसन्धान गर्न अदालतले दिएको परमादेशबारे छलफल हुनेछ । सर्वोच्च अदालतले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्ड छानबिन गर्न परमादेश दिएको थियो । त्यस हत्याकाण्डमा मोर्चा घटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि जोडिएका छन् । उनीविरूद्ध पनि अनुसन्धान गर्न उजुरी परेको थियो ।
परमादेशबारे मंगलबार यादवले नआत्तिएको र आत्तिन जरूरी समेत नरहेको टिप्पणी गरेका थिए । उनले गौरको घटना राजनीतिक विषय भएकाले राजनीतिक शक्तिहरूले समाधानको बाटो खोज्नुपर्ने बताएका थिए ।
‘आज आएर करिब १९ वर्षपछि अनुसन्धन गर्ने भन्ने कुरा सर्वोच्चबाट परमादेश जारी भयो भन्ने कुरा सञ्चार माध्यमबाट थाहा पाइयो । तर त्यसको पूर्णपाठ नआइकन त्यसमा प्रतिक्रिया दिने बेला भएको छैन । पहिला पूर्णपाठ पढौँ । राजनीति कहीँ न कहीँ घुसेको जस्तो अनुमान मिडियाहरूले गरेका छन् । मैले अझै पनि किन यस्तो भन्ने कुरा खोजी नै रहेको छु । हामी न्यायका लागि लडेका हौँ। अन्यायका विरुद्ध, न्यायका पक्षमा खडा भएका हौँ,’ उनले भने ।