इजरायल–इरानको युद्ध कारण नेपाल फर्किन चाहनेको उद्धारबारे छलफल

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ६ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन्।

आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा सो जानकारी गराएकी हुन्।

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उनीहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिइन्। उनले भनिन्, ‘जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो। त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ। नेपालीहरु स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ।’

तपाईंको प्रतिक्रिया

थप खबर