संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ५ ।  संघीय संसदका दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ।

वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्राल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिए।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन्। माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर