मिडियाबाजी डटकम काठमाडौँ असाेज २ । सेयर बजारमा तेस्रो नकारात्मक सर्किट लागेको छ । यससँगै आजका लागि बाँकी अवधिको कारोबार स्थगित भएको छ।
लामो समयपछि खुलेको बजारमा प्रि ओपन सेसनमै ३४ अंकले घटेको नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि सेयर कारोबार बन्द भएको हो।
नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।
सर्किटपछि ११ बजेर २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो।
त्यसपश्चात १२ बजेर ३ मिनेटमा खुलेको बजारमा १२ बजेर ६ मिनेटमा नेप्से पुनः १ प्रतिशत घटेपछि तेस्रो सर्किट लागेर आजको लागि सेयर कारोबार बन्द भएको हो।
आज सेयर बजार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ को विन्दुमा कायम भएको छ ।
सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ भने २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।