मिडियाबाजी डटकम काठमाडौँ,भाद्र २ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै देश, भूगोल, राजनीतिक दलको समस्या नभएर पृथ्वीको साझा समस्या भएको बताएकी छन् ।
आज (सोमबार) देखि काठमाडौंमा सुरु भएको हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताउँदै जलवायु परिवर्तन सीमाविहीन र मानव सभ्यताको संकट भएकाले सबैको साझा प्रयास जरुरी रहेको बताइन् ।
मन्त्री डा. राणाले भनिन्, ‘हामी यस्तो समयमा भेला भएका छौँ कि जलवायु संकट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको छ । अब सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नु पर्दछ ।’
उनले हाम्रा सामु खडा भएका जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट गर्दै यो दायित्व सबैको हो भनेर लाग्नुपर्ने बताइन् ।
विश्व मौसम विज्ञान संगठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १–५ डिग्री सेल्सियसले वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै यो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य रहेकोमा पनि उनले जोड दिइन् ।
मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतले जलवायु संरक्षण गर्ने, उत्सर्जन घटाउने, यसका गम्भीर प्रभावहरूसँग जुध्ने र सीमापार हानि रोक्ने काम राज्यहरूको कानुनी कर्तव्य रहेको स्पष्ट गरेको बताइन् । भारत, पाकिस्तान र नेपालमा हालै आएको बाढीले धेरैको ज्यान लिएको, पूर्वाधारहरु नष्ट पारेको र धेरैलाई अझै बेपत्ता बनाएको बताउँदै यसले सबैभन्दा गम्भीर असर हिन्दुकुश हिमालय क्षेत्रमा परिरहेको पनि स्पष्ट गरिन् ।