टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र २ ।   अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको छ ।

नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा नेपाली टोलीले भोगेको यो लगातार तेस्रो हार हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।

नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५३ रन बनाए । यस क्रममा उनले एक छक्का र तीन चौका प्रहार गरे । उनी दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएका थिए ।

कप्तान रोहित कुमार पौडेलले पनि ३३ रन बनाए । उनले ३१ बलमा तीन चौका हिर्काए । ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा २५ रन थपे । उनले १३ बलमा चार चौका प्रहार गरे । कुशल मल्लले ११ रन बटुले ।

त्यसअघि, मेलबर्न स्टार्स एकेडेमीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशकीय पारी खेलेका थिए । ओपनर टम रोजर्सले ६५ रन बनाए । उनले केवल ४६ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्लेक म्याकडोनल्डले पनि टोलीका लगि ७४ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।

विकेटकिपर ब्याट्सम्यान साम हार्परले ११ रन बनाए । मेलबर्न स्टार्स एकेडेमीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए ।

प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा २६ रन खर्चिएका थिए । जारी शृंखलामा उनले लिएको विकेट संख्या सात पुगेको छ । सोमपाल कामी र साहब आलमले पनि एक–एक विकेट हात पारे ।

टप इन्ड सिरिज अगस्ट २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो चौथो खेल मंगलबार हरिकन्ससँग खेल्नेछ । नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौं र २२ तारिखमा पाकिस्तान ‘ए’सँग छैटौं खेल खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर