मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन जना गम्भीर

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र २ । काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बेलुकी ९ः४७ बजे बूढानीकण्ठ नगरपालिका–७ स्पेसल चोकमा बा. प्र. ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए भने स्कुटरमा दुई जना सवार थिए । दुर्घटनापछि पाँचै जनालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको उपचार क्रममा सोमबार बिहान २ः१५ बजे मृत्यु भएको हो । अन्दाजी ३५ वर्षका अर्का व्यक्तिको पनि सोही समयमा मृत्यु भएको हो । उनी मोटरसाइकलमा थिए कि स्कुटरमा थिए भन्ने पनि खुलेको छैन ।

बाँकी तीन जना घाइतेको अवस्था पनि गम्भीर छ । तीमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ । एसपी गिरीका अनुसार गोरखाको खोर्खा नगरपालिका आरूपोखरी घर भई हाल काठमाडौंको भंगाल बस्ने २४ वर्षीय एरिक परियार बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते छन् । बाँकी दुवै जना २८-२९ वर्षका रहेको र उनीहरूको परिचय खुलिनसकेको एसपी गिरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर