आदर्श सौल:मा “विद्यालयमा कुलपति” कार्यक्रमसँगै अन्तरक्रिया र कविगोष्ठी सम्पन्न !

  ३ घण्टा अगाडि

  • प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ, भाद्र २। ललितपुर । ललितपुरको बुङ्गमतीस्थित छयासीकोटमा रहेको आर्दश सौलः युवक माविमा “विद्यालयमा कुलपति’” कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा कविगोष्ठीको आयोजना गरिएको थियोे।

श्रावण ३० गते शुक्रबार सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिकविन्दु विद्यार्थीहरू भएको बताउनुभएको थियोे । उहाँले कविता, कथा ,निबन्ध ,गीत , नाटक र उपन्यास जस्ता विधाको विद्यार्थीले अहिलेदेखि नै सिर्जना गरेमा भविष्यमा मुलुकको भाषा,साहित्य, संस्कृति आदिका क्षेत्रमा उनीहरूले उल्लेखनीय सिर्जना गर्न सक्ने बताउनुभएको थियोे । उहाँले देशका विभिन्न विद्यालयका कार्यक्रममा सहभागी भएको अनुभव सुनाउँदै यति ठुलो सङ्ख्यामा शिक्षक,शिक्षिका ,अभिभावक र विद्यार्थी आफूले विरलै देखेको बताउँदै तारिफ गर्नुभएको थियोे । एउटा साधारण पाटीबाट पठनपाठन सुरु भएको यो विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेखनीय योगदान गरेकाले नै आकर्षणको केन्द्र बनेको बताउनुभएको थियोे ।उहाँले साहित्य भनेको ध्यान जस्तै साधना हो ।अहिले कतिपय बिरामीलाई पोएट थेरापी र म्युजिक थेरापी दिने गरेको चर्चा गर्दै यस क्षेत्रमा लाग्ने व्यक्तिमा आचरण र नैतिकता उच्च हुने बताउनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले “विद्यालयमा कुलपति” कार्यक्रमले शिक्षक,विद्यार्थी र अभिभावकमाझ प्रज्ञा-प्रतिष्ठान घुलमिल भएर रचनात्मक कार्य गर्न सक्ने बताउनुभएको थियोे।साहित्य जुनसुकै विषय अध्ययन गरेकाले पनि सिर्जना गर्न सक्ने बताउँदै त्यसका लागि भाषामा अबल हुनुपर्ने बताउनुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानको उद्देश्यबारे प्रकाश पार्दै प्राज्ञिक योगदानसहित आफ्नो पाठ्यपुस्तक लेखनको अनुभव सुनाउँदै पाठ्यपुस्तक पढेर उत्तीर्ण गर्ने विद्यार्थीले पाठ्यपुस्तक लेखकलाई समेत चिन्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियोे।

कार्यक्रमका अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले “विद्यालयमा कुलपति” कार्यक्रमले विद्यालय जस्तो शैक्षिक संस्थाले प्रज्ञा-प्रतिष्ठानका प्राज्ञिक कार्यबारे परिचित गराउँदै शिक्षक र विद्यार्थीहरूलाई साहित्य लेखनका क्षेत्रमा प्रेरित गर्ने बताउनुभएको थियोे।उहाँले आफू यस विद्यालयको पूर्व अभिभावक समेत रहेको चर्चा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एक अबल विद्यालयको रूपमा चित्रण गर्नुभएको थियोे।विद्यालयले नियमित साहित्यिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रमका सभाध्यक्ष तथा आदर्श सौलःमाविका प्रधानअध्यापक ज्ञानभक्त महर्जनले प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरूलाई आफ्नो विद्यालयमा पाएकामा आभार व्यक्त गर्दै “विद्यालयमा कुलपति”कार्यक्रमले विद्यार्थी , शिक्षक ,शिक्षिका र अभिभावकबिच भाषा ,साहित्य ,संस्कृति र कलाको महत्त्वलाई उजागर गर्दै यस क्षेत्रमा लाग्न थप प्रेरित गरेको बताउनुभएको थियोे।उहाँले यसै विद्यालयबाट शिक्षा आर्जन गरेर प्रधानाध्यापकको भूमिकासम्म आउँदाका अनुभूतिहरूलाई “म’”शीर्षकको कवितामार्फत प्रस्तुत गर्नुभएको थियोे।योअन्तरक्रिया तथा कविवाचन कुनै “साधारण जमघट नभइ भावनाको सेतु र विचारको बगैँचा” भएको बताउनुभएको थियोे। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मिरा शाहले प्रज्ञा-प्रतिष्ठानसँग सहकार्य र समन्वयका बारे जिज्ञासा राख्नुभएको थियोे । कार्यक्रममा बिहानी सत्रका सहायक प्रधानाध्यापक डिल्लीमान श्रेष्ठले प्रज्ञा-प्रतिष्ठानले भाषा,साहित्य र कलाको क्षेत्रमा कामगर्दै आएको आफूले थाहा पाए पनि यसको व्यापकता बारे आज मात्रै प्रष्ट भएको बताउनुभएको थियोे।उहाँले स्वरसम्राट नारायण गोपाललाई प्रज्ञा-प्रतिष्ठानमा पुगेर श्रद्धाञ्जली दिँदाका क्षणको भावुकतालाई स्मरण गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति ,सदस्य सचिव र प्राज्ञलाई आफ्नो आदर्श सौल:को प्राङ्गणमा स्वागत गर्न पाउँदा गौरवबोध भएको बताउनुभएको थियो।

कार्यक्रमको उद्घोषण गर्दै शिक्षक, मानविकी तथा शिक्षा सङ्काय एवम् शैक्षिक विभाग प्रमुख दिनेश खड्गाले धार्मिक विसङ्गतिबारे आफ्नो कवितावाचन गर्दै “विद्यालयमा कुलपति” कार्यक्रमले विद्यार्थीहरूलाई प्रज्ञा-प्रतिष्ठान बारे जानकारीका साथै साहित्य ,संस्कृति तथा कला सिर्जनामा लाग्न अभिप्रेरित गरेको बताउनुभएको थियो। कार्यक्रममा आदर्श सौल:अतिरिक्त विभागका प्रमुख शिक्षक निरोजकुमार श्रेष्ठले वाचित कविताको संयोजन गर्नुभएको थियोे ।यस विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी करिष्मा घर्ती मगर, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार ,आदित्य जैसीवाल,रञ्जना यादव,यशोदा थापा,सञ्जीव स्याङ्तान,आशिका लिम्बू र सीता बस्नेतले कवितावाचन गर्नुभएको थियोे।अभिभावकको रोजाइमा रहेको आदर्श सौल:मा दुई हजार बढी विद्यार्थी अध्ययनरत छन्। प्राज्ञ चेतनाथ धमला

तपाईंको प्रतिक्रिया

थप खबर