मिडियाबाजी डटकम काठमाडौँ, साउन २। नेपालले आर्थिक वर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा भारत र बंलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको हो । नेपालले एक आर्थिक वर्षमा करिब १६.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो । सरकारले नेपालमा नै विद्युत् उत्पादन वृद्धि गरी भारतबाट ठुलो परिणाममा आयात गर्ने विद्युत् कम गर्दै गएको छ ।
ऊर्जा मन्त्रालय सम्हालेको एक वर्षमा ऊर्जा क्षेत्रमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दीपक खड्काले यस्तो बताएका हुन । नेपाल सरकारले भारतसँग ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृत गरी १००० मेगावाट आयात गर्न सकिने प्रबन्ध मिलाएको मन्त्री खड्काले बताए । उक्त प्रबन्ध अनुरूप वर्षातको समयमा ८५० मेगावाटसम्म नेपालले भारतलाई निर्यात गरेको जनाए । सुख्खा याममा ६७० मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको जानकारी गराए ।
आर्थिक २०८१/८२ मा १,७१२ गिगावाट घण्टा विद्युत् आयात गरिएको थियो भने २,३३२ गिगावट घण्टा नेपालबाट भारतमा विद्युत् निर्यात गरिएको थियो । उक्त तथ्याङ्कका आधारमा आयात भन्दा निर्यात बढी गरेकाले जलविद्युतमा निर्यातकर्ता मुलुक बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा नेपाल भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता भई बंलादेशसँग ४० मेगावाट विद्युत् डलर भुक्तानीमा निर्यात प्रारम्भ भएको छ ।