मिडियाबाजी डटकम काठमाडौँ, साउन २। कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले ज्यान मुद्दामा जिल्ला अदालत रौतहटले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै सफाइ दिने फैसला गरेको थियो । न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले आज सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । यसअघि असार २५ गते महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतबाट सफाइ पाएका मोहम्मद आफताब आलम लगायत सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।