मिडियाबाजी डटकम काठमाडौँ असाेज १ । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ।
जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए।
आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन्।
कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई चुस्तदुरुस्त र पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालय नै आन्दोलनकारीले आगजनी गरेका थिए।
कार्यालयमा रहेका लेखासम्बन्धी सम्पूर्ण कागजी दस्ताबेज र उपकरण जलेर नष्ट भएपछि प्रदेश सरकारको समग्र वित्तीय व्यवस्थापनको पाटो रोकिएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख रत्नप्रसाद सुवेदीले बताए।
कार्यालयका पुराना आयव्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सम्पूर्ण फाइल जलेर नष्ट भएको सुवेदीले बताए।