रुषा थापा__
मिडियाबाजी डटकम काठमाडौँ असाेज १ । मुलुकमा ७७ वटा जिल्ला छन् ।
०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । ७७ जिल्लामध्ये सबैभन्दा महत्त्वपूर्णमा काठमाडौं पर्दछ । यो मुलुकको राजधानीसमेत हो । काठमाडौंमा दश वटा क्षेत्र छन् । यहाँ बसोबास गर्ने जनता धेरै पढेलेखेका, बुद्धिजीवी छन् ।
पूर्वराजादेखि राष्ट्रपति, प्रधानमन्त्री, सरकारी अधिकृतहरु, पत्रकारलगायत शिक्षित मानिसहरु यहाँ बस्छन् । ०७९ वैशाख ३० गते स्थानीय तह चुनाव भयो । काठमाडौं महानगरपालिका नगर प्रमुखमा तीन जनाले उम्मेदवारी दिएका थिए । एमालेबाट केशव स्थापित, काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्रबाट बालेन्द्र शाह (बालेन) उठेका थिए ।
स्थापित र सिंह काठमाडौंका रैथाने बासिन्दा हुन् । उनीहरुका बाबुबाजे यही जन्मिएका हुन् । बालेनका बुबा तराईमा जन्मिएका हुन् । काठमार्डौंमा बसाई सरेर उनको परिवार आएको हो । काठमाडौंका जनताले स्थापित र सिंहलाई हराएर बालेनलाई मेयरमा निर्वाचित गराए । त्यतिखेर यो विषयको व्यापक चर्चा भयो, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ।
किन काठमाडौंबासीले रैथानेलाई हराएर बाहिरी जिल्लाका मानिसलाई जिताए, त्यो पनि स्वतन्त्र ? भनेर धेरै नै चर्चा भयो । ०८२ भदौ १६ गते शनिबार राति बालेन पत्नी सवार सरकारी गाडी ट्राफिकले बाटोमा रोक्यो । कानूनअनुसार सार्वजनिक बिदाका दिन र बिहान ९ बजेअघि वा बेलुका ५ बजेपछि सरकारी गाडी चलाउन पाइँदैन ।
सरकारी गाडी जनताले तिरेको करबाट किनिएको हो । त्यसमा राखिने ड्राइभर र हालिने पेट्रोल पनि जनताले नै तिरेको करबाट हो । साथै, गाडी बिग्रिएमा सर्वसाधारणकै करबाट मर्मत गरिन्छ । अर्को मुख्य कुरा, सरकारी गाडी जसलाई दिइएको हो, उसले मात्र चढ्न पाउँछ, त्यो पनि कार्यालयको कार्यका निम्ति । व्यक्तिगत प्रयोजनका लागि होइन ।
ट्राफिक प्रहरीको काम ऐन कानून कार्यान्वयन गर्नु हो । त्यसैले, उनीहरुलाई सडकमा खटाइएको हो । ०८२ भदौ १६ गते आफ्नो ड्युटी गरिरहँदा मध्यरातमा सरकारी गाडी चलेको देखेपछि ट्राफिकले रोक्यो । त्यो गाडी कसको र कसले चढेको छ ? भनि ट्राफिकलाई थाहा थिएन । यसैले, ट्राफिकले गाडी चेकजाँच गर्यो ।
अनि आफ्नी पत्नी चढेको गाडी रोकेको आक्रोशमा मेयर बालेनले सिंहदरबार जलाइदिने धम्की दिए । उनले फेसबुकमा लेखेका थिए, ‘भोलिदेखि महानगरको कुनै पनि गाडी रोकेको सिंहदरबार जलाइदिन्छु ।’ गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन भयो । आन्दोलनका क्रममा ५४ जनाले ज्यान गुमाएका छन् । आन्दोलनमा मान्छे मात्र मरेनन्, नेपालीको इतिहास सिंहदरबार दनीदनी बलेर खरानी भएको छ । बालेनको स्टाटसको दुई वर्षपछि सिंहदरबार नै मेटिएको छ । अब सिंहदरबार जल्नुमा बालेनको के सम्बन्ध ? भन्ने प्रश्न उठ्ला । स्मरण रहोस्, जेनजी आन्दोलनलाई बालेनको पूर्ण समर्थन थियो ।
आफू उमेरहदका कारण सडकमा आउन नमिल्ने भएपनि सक्दो सहयोग गर्ने उनले बताएका थिए । त्यसैले, उनकै योजनामा सिंहदरबार जलाइएको धेरैको अनुमान छ । सिंहदरबार मात्र होइन, न्यायको थलो सर्वोच्च अदालत, जिल्ला अदालतहरु, संसद् भवन, शीतल निवास, बालुवाटार निवास, स्थानीय तहका भवनहरु, प्रहरी चौकी तथा भवनलगायत धेरै सरकारी सम्पत्ति जलेर खरानी बनेको छ ।
व्यक्तिका सम्पत्तिसमेत आन्दोलनका नाममा जलाएर खरानी नै बनाइएको छ । राज्यलाई खर्बौको क्षति पुगेको छ । बल्लतल्ल उभो लाग्न लागेको हाम्रो देश नेपाल फेरि पछाडि धकेलिएको छ । अब मुलुकलाई उठ्न धेरै गाह्रो छ । किनकि सरकारी सम्पत्ति सबै खरानी भएको छ भने राज्न्यको ढुकुटीमा पैसा नै छैन ।
अनि राज्यलाई खर्बौको क्षति पुर्याएका व्यक्तिहरु चाँहि फेरि सत्तामा पुगेका छन् । जेनजी आन्दोलनलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, रास्वपा सभापति रवि लामिछानेलगायतले पनि समर्थन गरेका थिए । कार्की अहिले प्रधानमन्त्री भइसकेकी छन् । देशलाई अर्बौको क्षति पुर्याएर उनी सत्तामा पुगिन् ।
यता, देशभरका जनता काठमाडौंबासीलाई भन्छन्– तपाईंहरुले कस्तो व्यक्तिलाई जिताउनु भएछ, जसले राज्यलाई खर्बौको क्षति पुर्यायो । काठमाडौंबासी शिक्षित भए तर उनीहरुमा राम्रो–नराम्रोबीच ज्ञानको अभाव भयो । अनि त्यसको परिमाण चाँहि समग्र जनता र देशले व्यहोनुपरेको छ । काठमाडौंका जनता महानगरलाई खनखन्ती कर तिर्छन् ।
मेयर बालेन चाँहि त्यो कर आफ्नो निजी सम्पत्तिजसरी राज्यलाई अर्बौको क्षति पुर्याउने जेनजी आन्दोलनका घाइतेको खाना र उपचारमा खर्च गरिरहेका छन् । काठमाडौंकी उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरु एकजुट भएर अब बालेनलाई कारबाही गर्नुपर्छ । अहिले जतिपनि ठूला र महत्त्वपूर्ण सरकारी कार्यालय, निजी सम्पत्तिहरु जलेका छन्, ती सबै काठमाडौंभित्र पर्दछन् ।
बालेनले आफ्नै कार्यक्षेत्रभित्रका सम्पत्तिमाथि आगो लगाएका छन् । सुरक्षा गर्नुको साटो सरकारी सम्पत्ति नै खरानी बनाइदिएका छन् । त्यसकारण अन्य थप क्षति हुन नदिनका लागि भएपनि उपमेयर डंगोलसहित वडाध्यक्षहरुले तत्काल बालेनलाई कारबाही गर्नुपर्छ । जनता कर तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।
तर, जनताले वर्षौदेखि खाईनखाई तिरेको करबाट बनेका भवनहरु बालेनसहित सुशील, रवि, कुलमान घिसिङ र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको मिलेमतोमा खरानी बनाइयो । आफ्नो स्वार्थका निम्ति उनीहरुले सरकारी, निजी सम्पत्तिमाथि आगो लगाए । नेपालको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसक्यो । अबको दुई वर्षमा यो दोब्बर हुने छ ।
निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालहरुको २४ अर्ब भुक्तानी दिन बाँकी छ । देशमा रोजगारी नभएर दैनिक तीन हजार नेपाली युवा विदेश पुगिरहेका छन् । विदेशमा रगतदिन नभनि रगतपसिना बगाएर उनीहरुले कमाई पठाएको रेमिट्यान्सबाट बनेका भवनहरु आज खरानी भएको छ ।
छिमेक भारत र चीनले वर्षौदेखि नेपालको विभिन्न भूभाग कब्जा गरिरहेको छ । सिक्किम, दार्जेलिङ, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग भारत र चीनको अधीनमा छ । जेनजी आन्दोलनमा सुरक्षाकर्मी (प्रहरी र सशस्त्र प्रहरी) लाई कुटीकुटी मारियो । अर्धनग्र बनाई खोलामा हालेर ढुंगाले हानियो ।
प्रहरी चौकी तथा भवनहरुमा आगजनी गरियो । प्रहरीका पोशाक खोसेर आन्दोलनकारीले लगाए । जसले प्रहरी बर्दीको मात्र सान गुमेन, प्रहरीको मनोबलसमेत गिरेको छ । यो सबै गराउने बालेनसहित सुशीला, रवि, कुलमान र सुदन हुन् । जेनजी आन्दोलनको मौका छोपेर रवि कारागारबाट भागे । उनकै कारण देशभरका कैदीबन्दी पनि जेलबाट भागे । जसका कारण समाजमा असुरक्षा बढ्यो ।
यता, सुशीला प्रधानमन्त्री नियुक्त भइन् । तर, उनीमाथि प्रधानन्यायाधीश हुँदा राज्यलाई हानिनोक्सानी पुर्याउने फैसला गरेको, घुस खाएको आरोप छ । त्यसैले, उनीमाथि तत्कालिन सदनले महाअभियोगसमेत लगाएको थियो । उनी नेपाली नागरिकसमेत होइनन्, भारतीय नागरिककी छोरी हुन् । बालेन त आफूलाई राजा ठान्छन् । उनले महानगरमा आफ्नो लागि करोडौं खर्च गरेर छुट्टै लिफ्ट बनाएका छन् ।
यतिमात्र होइन, फुटपाथमा ढुंगा तथा टायल हाल्दा, बसस्टप र मन्दिर सरसफाई तथा पुनःनिर्माण गर्दासमेत उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ । कुलमान त विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । उनले प्राधिकरणमा हुँदा धेरै भ्रष्टाचार गरेको उजुरी अख्तियारमा यसअघि नै परिसकेको छ ।
जेनजी आन्दोलनका अगुवा सुदन चाँहि एनजीओ चलाउँछन् । एनजीओमार्फत गरिब जनताको नाम बेचेर उनले विदेशी डलर ल्याउने र पचाउने काम गर्दै आएका छन् । यिनीहरुको असली रुप बाहिरिँदै छ । त्यसैले, जनता भन्छन्, ‘कर नतिरौं । विदेशबाट रेमिट्यान्स नपठाऔं र विदेशीलाई अनुदान र ऋण नदिन आग्रह गयौं ।’ त्यसपछि उनीहरुले आगो लगाएका सम्पत्ति फेरि कसरी बनाउँछन् ? सबैले देख्नेछन् । किनकि आगो लगाउनजति सहज छैन पुनःनिर्माण गर्न । जनता सचेत हुनुपर्छ । हाम्रै सम्पत्तिमाथि आगो लगाएर, हाम्रै सन्तान, दाजुभाई, दिदीबहिनी मार्ने अनि हामीमाथि नै शासन चलाउन खोज्नेविरुद्ध जनता सतर्क हुनुपर्दछ ।