शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृत्यु, सात घाइते

  जेठ ०४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ३ ।   काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा शुक्रबार भएको हावाहुरीसहितको वर्षाले धनजनको क्षति गरेको छ । कम्तीमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए ।

उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए । उनले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका पनि जानकारी दिए । चितवनमा हावाहुरीले क्षति गराएको छ ।

त्यस्तै कपिलवस्तुमा हावा लागेको कारण खसेको आँप टिप्न बगैँचा गएकी बालिकाको रुखले च्यापिएर मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका ८ मैनिहवा की एक बालिकाको शुक्रबार दिउँसो रुखले च्यापेर मृत्यु भएको हो । हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो । घाइते केवटलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।

हावाहुरीका कारण जिल्लामा ५० भन्दा बढी विद्युतका पोल ढलेका छन् । यता शनिबार पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर