मिडियाबाजी डटकम काठमाडौँ , माघ ४ । नेकपा एमालेबाट निष्काशित पूर्व उपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् ।
आफ्नो फेसबुक पेजबाट बिहीबार पार्टीको संक्षिप्त जानकारी सार्वजनिक गर्दै रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ। जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।