मिडियाबाजी डटकम काठमाडौँ, असार ३२। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनु पर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् ।
आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन्। निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको बताए । नयाँ मन्त्री पनि आइसकेको उनले उल्लेख गरे ।
उनले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही गरिने बताए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनले स्पष्ट पारे । ‘सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नु भएको छ । अर्को मन्त्री आइसक्नु भएको छ । यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला’, उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनु पर्छ भन्ने कुरा रहँदैन ।’