मिडियाबाजी डटकम काठमाडौँ, असार २ । प्रतिनिधिसभामा आज (सोमबार) अर्थमन्त्री विष्णु पौडेल बोलिररहेका थिए ।
सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिइरहेका अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ बीचमै रोकिन् । संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले ‘मानव तस्करी’ लगायत आपत्तिजनक शब्द प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै उनले आपत्ति जनाएकी थिइन्।
उनले ‘मानव तस्करी’ बारे सदनमा स्पष्ट पार्न आग्रह गरिन् । उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै उनले ‘पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो ?’ वा ‘कुन विषयको मानव तस्करी हो ?’ भन्दै स्पष्ट पार्न आग्रह गरिन्। ‘आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो ? सदनमा स्पष्ट पारियोस्’, उनले भनिन्।