मिडियाबाजी डटकम काठमाडौँ, असार २ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्।
आज (सोमबार) परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।
त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूलाई पर्नसक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेका थिइन्। त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए। आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो।