मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताएकी छन् । काठमाडौंमा आज (शुक्रबार) देखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’
जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको उनले बताइन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ, हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’, उनले थपिन्, ‘बाढी, हिमताल विष्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पुर्याएको छ ।’