मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरला नाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ ।
नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ। कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ। नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन। भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ। स्थानीयहरू सरकारले कोरला नाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन्।