रवि लामिछानेलाई नख्खु कारागार ल्याइँदै

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागार सरुवा गरिने भएको छ ।

गृह मन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न निर्देशन लगत्तै कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गरेको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई सरुवा नक्खु कारागार ल्याउने निर्णय गरेका हुन् । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानाएको छ ।

लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन् । उनको कारागार बसाइ लम्बिने भएपछि अब काठमाडौँ ल्याउन लागिएको गृहका अधिकारीहरूको भनाइ छ ।

लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए । तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको भन्दै आलोचना भएको थियो ।

गत साता राष्ट्रिय मानव अधिकार आयोगले रविलाई राखेको कारागारको निरीक्षण गर्दै सबै प्रक्रिया पूरा भएर पनि उनलाई कारागार सरुवा नगरिएको भन्दै ध्यानाकर्षण गराएको थियो । यही विषयमा छलफल गर्न आयोगले बिहीबार कारागार व्यवस्थापन विभागका निर्देशकलाई झिकाएको थियो ।

बिहीबार मात्रै प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री लेखकले लामिछानेको कारागार सरुवाको विषयलाई गम्भीर रूपमा लिएको बताएका थिए ।

रवि हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा भैरहवा कारागारमा छन् । जिल्ला अदालतले एक करोड रूपैयाँ धरौटीमा रिहा गरेको भए पनि उच्च र सर्वोच्च अदालतले उनलाई थुनामै बस्नुपर्ने आदेश गरिदिए ।

तपाईंको प्रतिक्रिया

थप खबर