बागमतीका नव नियुक्त पाँच मन्त्रीले लिए शपथ, बानियाँ नेतृत्वको सरकारले पायो पूर्णता

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० ।  बागमती प्रदेशका नव नियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

नव नियुक्त पाँच मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बानियाँको सिफारिसमा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोकेका छन् । अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो । २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर