सर्वसाधारण चढ्न नपाउने काठमाडौं महानगरको लिफ्ट

  १ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० ।    काठमाडौं महानगरपालिकाले आफ्नो मुख्य कार्यालय भवनमा राखेको एउटा लिफ्टमा सर्वसाधारण चढ्न पाउँदैनन् ।

महानगरपालिकाका अनुसार यो लिफ्ट महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरु लगायत उच्च पदाधिकारीहरु मात्र चढ्न पाउँछन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले महानगरका उच्च तहका पदाधिकारी र कर्मचारीले मात्रै यो लिफ्ट प्रयोग गर्ने प्रणाली बसालिएको पुष्टि गरे । ‘भिआइपीहरुका लागि छुट्टै लिफ्ट राखिएको कुरा सत्य हो’ उनले डिसीनेपालसँग भने ‘महानगरको कार्यालयमा सेवाग्राहीहरुको धेरै भिडभाड हुने भएकोले यो लिफ्ट बनाइएको हो ।’

महानगरको कार्यालयमा कूल ३ लिफ्ट छन् । यीमध्ये २ वटा लिफ्टमा सर्वसाधारण चढ्न पाउँछन् । तर, तेस्रो लिफ्टमा भने सर्वसाधारण चढ्न सक्दैनन् । यो लिफ्टमा पासवर्ड राखिएको छ । पासवर्ड थाहा हुनेले मात्रै यो लिफ्ट प्रयोग गर्न सक्छन् । सर्वसाधारणसँग पासवर्ड नहुने भएकोले उनीहरुले यो लिफ्ट प्रयोग गर्न सक्दैनन् ।

महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेले भने विशिष्ट व्यक्तिहरुका लागि मात्रै लिफ्ट बनाइएको दावीलाई अस्वीकार गरे । तर, लिफ्टमा पासवर्ड राखिएको कुरालाई भने उनले अस्वीकार गरेनन् । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पनि लिफ्टमा पासवर्ड राखिएको कुरा पुष्टि गरे ।

‘लिफ्टमा पासवर्ड राखिएको छ, पासवर्ड हुनेहरुले मात्रै त्यो लिफ्ट प्रयोग गर्न सकिन्छ’ उनले भने । महानगरका कर्मचारीहरु लिफ्टमा सर्वसाधारणलाई ‘निषेध’ गरिएको कुरा स्वीकार गर्न तयार भएनन् । तर, उनीहरुले लिफ्टमा पासवर्ड राखिएको र त्यो पासवर्ड सीमित व्यक्तिहरुलाई मात्रै थाहा हुने कुरा भने पुष्टि गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर