मिडियाबाजी डटकम काठमाडौँ, असार १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्सिँदा आइतबार बिहानदेखि अवरुद्ध छ।
आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीमा अविरल वर्षाका कारण सडक भास्सिएर अवरुद्ध भएको भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। ‘अब वर्षा सुरु भयो, सडक अवरुद्ध भइरहने गर्छ, यसले नाका र सीमावासी प्रभावित बनेका छन्,’ उनले भने।
शनिबार रातिदेखिको निरन्तर वर्षापछि सडकको संरचना कमजोर बनेर भास्सिएको जनाइएको छ। सडक भास्सिँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी तथा दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापार बर्खाअघि दुई पटक अवरुद्व भएको थियो। यसअघि अविरल वर्षापछि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिट भास्सिएको थियो, जसका कारण नाका पूर्णरूपमा बन्द भएको थियो।