कांग्रेसले दोस्रो पटक भन्यो : प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २  नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ । यो बिषयमा कांग्रेसको यो दोस्रो विज्ञप्ति हो ।

उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत भनेका छन्, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ ।’

उपसभापति खड्काले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको पार्टीको धारणामा उल्लेख छ । ‘लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ’ जारी वक्तव्यमा भनिएको छ ।

कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्तिमा आफ्नै निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा। आरजु राणा देउवा कुटिएको विषय उल्लेख नगरेकोमा विरोध भएको थियो ।

अहिले भने त्यो विषय खड्काले वक्तव्यमा उल्लेख गरेका छन् । त्यसबारे खड्काले लेखेका छन्, ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा। आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

तपाईंको प्रतिक्रिया

थप खबर