जेनजी आन्दोलनमा गयो विजयको ज्यान, छोरो फर्किने आशमा बेखबर बुबाआमा

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २   हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बसेका छन् ।

छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहेका छन् । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।

मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । ‘गोली लागेको रे, तर उपचार भइरहेको छ’, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।

घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छन् । ‘भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा छैन । होसमा आएपछि खबर गर्छु ।’

सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । गत मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।

पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।

भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुगिन् । उनले राजधानीका दर्जनौँ अस्पताल चहारिन् । चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पारिन् । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन् । त्यसपछि विक्षिप्त बनेकी सुशीला बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् । ‘छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु’, आमा जलेश्वरीदेवीले भनिन् ।

तपाईंको प्रतिक्रिया

थप खबर