मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । सत्ता साझेदार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तीन सूत्रीय माग राखेर प्रदर्शन गरेको छ ।
सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए । विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासंघ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु शत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको त्रिवि स्ववियु अध्यक्ष जोशीले बताए ।