मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनको अवरोध खुल्नु र पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध नभएको बताएका छन्।
आज (शनिबार) बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मानिसहरूले गलत कुराको प्रचार गरिरहेको बताए। अध्यक्ष प्रचण्डले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताए। उनले सदनबाट केही महत्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकाले पनि सहमति गरेको दावी गरे।
एकातिर संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ। लाखौं शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ। टीआरसीसँग सम्बन्धित विषय अगाडि बढाउनु पर्नेछ’, उनले भने, ‘यस्तो वेला सदन अवरोधले निकास ननिस्कने हुँदा सहमतिमा गएका हौं।’
भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरूको जोड रहने भन्दै उनले गहिरो अध्ययन हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताएका छन्। पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको हो भन्ने प्रश्नको जवाफमा उनले यी दुईबीच कुनै साइनो नरहेको जिकिर गरे। ‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गरेका छन्। त्यस्तो केही होइन’, उनले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’
आफूहरूको सरकारमा जाने कुनै तयारी नरहेको प्रचण्डले बताएका छन्। ‘हाम्रो आफ्नै सिद्धान्त र लाइन । सरकारमा जाने कुनै तयारी छैन,’ दुई बुँदे सहमति गरेर कांग्रेससँग सम्बन्ध सुधार भएको हो भन्ने प्रश्नमा उनले भने, ‘सम्बन्ध के भयो भन्ने भोलिका दिनमा देखिएला।’