मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन्। ‘धेरै सोच विचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । मेरो यो कदम क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा जान खोजेको होइन–यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन्।
आफूलाई निरन्तर सहयोग गरेको भन्दै उनले क्यानप्रति आभार व्यक्त गरेका छन् । नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्। ‘जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरुले भरिएको यात्रा हो । अझै धेरै कुराहरु सिक्न बाँकी छ । धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ । म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु’, सन्दीपले लेखेका छन् । सन्दीपले भनेका छन्, ‘कहिलेकहिँ छनोटहरु उद्देश्य र विकासको ठाउँबाट गरिन् ।’