मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र आज (बुधबार) ठेकेदार र कामदार मृत भेटिएका छन् ।
सोही नगरपालिकाका–२ बस्ने ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई सेप्टिक ट्यांकीभित्र मृत भेटिएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ । बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ । त्यसपछि मात्रै कारण खुल्ने डीएसपी खतिवडाले बताए । घटनाका विषयमा प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।