डाँडाखेत–राहुघाट सवस्टेसनको उपकरण जडान सुरु

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ ।   म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेसनको पूर्वाधार निर्माण सकिएको छ।

नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनामार्फत सवस्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए ।‘५१ रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३-३३ केभी, ३० एमभीए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेसन निर्माण हुन लागेको हो ।’

डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रुपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ ।

‘समग्रमा ७९.१७ प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।’

१३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । ४ वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रसारण लाइन र सवस्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ ।

२२०-१३२-३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआइएस प्रविधिको राहुघाट सवस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेसन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सवस्टेसन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब १ सय जना जनशक्ति ल्याएको छ । कुल ४ अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर