मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना हुँदा घाइते सबैको पहिचान भएको छ ।
काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिए ।
डीएसपी अधिकारीका अनुसार बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । उनीहरु सबैको पहिचान भइसकेको छ । उनीहरुलाई उद्धार गरी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ । घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । बस हटाउने पहल भइरहेको छ ।