खाँण र रायमाझीसहितको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ ।   नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधसम्बन्धी मुद्दामा साक्षीसँग बकपत्रका लागि पेसी तोकिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा साक्षीको बकपत्रका लागि पेसी तोकिएको छ । साक्षीसँग बकपत्रपछि मुद्दाको अन्तिम सुनुवाइका लागि लैजाने अदालतको तयारी छ । दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई निरन्तरता दिन लागेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, कीर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । यो मुद्दामा थुनछेक आदेश भएयता ३२ पटक पेसी चढेकामा गत १ वैशाखयता मात्रै २२ पटक पेसी तोकिएको छ ।

त्यसअघि २०८१ मा ७ र २०८० मा ४ पटक पेसी तोकिएको थियो । गृहमन्त्री र गृह सचिवस्तरमा निर्णय गरेर बिचौलियासँगको ‘सेटिङ’ मिलाई नक्कली शरणार्थी सूची बनाएको पोल खुलेपछि प्रहरीले १२ चैत २०७९ मा केशव दुलालसहित केहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

यो मुद्दामा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् । यो मुद्दामा रायमाझी, पाण्डेसहित केही व्यक्ति थुनामा छन् । खाँणसहितका केही भने बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर